Samstag, 28. Februar 2009

गजल के हो

तपाईको झर्रो भाषामाथिको प्राधिकार त निर्विवाद छदैछ । गजलको प्राविधिक व्याकरण र शैलीगत विशिष्टतालाई पनि ग्रहण गरिरहनु भएको देख्न पाउँदा खुशी लाग्छ । अब जहाँसम्म वस्तु (content) को कुरा छ, म यथार्थवाद रुचाउँछु । अब कवितामा, खास गरेर गजलमा केको यथार्थवाद नि, गजल भनेकै अतिशयोक्तिवाद हो भन्ने कुरा आउला । त्यो कुरा त हो, तर मलाई के लाग्छ भने अतिशयोक्तिमा पनि कुनै प्रकारको संतुलन वा संकेतद्वारा यथार्थ पस्किन सकिन्छ । मेरो यो सोचाईलाई सम्भवत: "जादुई यथार्थवाद" (magical realism) भनिन्छ होला ।



यो "जादुई यथार्थवाद" बारे मैले सिक्नै बाँकी भएकोले केही भन्न सक्ने स्थितिमा छुईन । जिज्ञासा छ भने google गर्नुहोला ।



एनिवे, मेरो आसय के हो भने हाम्रा शास्त्रिय गीत-गजलले प्रस्तुत गर्ने गरेका काल्पनिक प्रेम र काल्पनिक प्रेमीहरुलाई नै अन्तिम नमानेर आफैले देखे भोगेको वास्तविक प्रेम र वास्तविक प्रेमीहरुको यथार्थ जे छ त्यही पो पस्कने हो कि ?



मैले तपाईको प्रस्तुतीलाई काल्पनिक दावी गरेको चाही होईन है । त्यो नितान्त काल्पनिक हो वा वास्तविकतामै आधारित हो भन्ने कुरा त लेख्ने मान्छे तपाईलाई मात्र थाहा हुने कुरा हो ।


जे भए पनि, यथार्थ पात्र र यथार्थ पात्रजीवनलाई गजलको जादुमय शैलीमा पस्कनुहोस् भन्ने मेरो आसय हो । तर के पनि भन्न छुटाउनु हुन्न मैले भने कल्पना पनि एक तहमा यथार्थ नै हो । यसो भनम् न, कल्पना दुई प्रकारको हुन्छ – यथार्थ कल्पना (वा काल्पनिक यथार्थ) र काल्पनिक कल्पना । मैले खोजेको काल्पनिक यथार्थ हो काल्पनिक कल्पना होईन ।

प्रचलित शब्दहरु मात्र होईन लुप्तप्राय: अप्रचलित शब्दहरु समेतका धनी तपाईको गजलमा एक फरक स्वाद पाईन्छ । त्यसलाई तपाईको शक्ति र विशेषताको रुपमा कायम राख्नुहोला ।अनि गजल यसको उपयोगिताको आधारमा दुई वर्गको हुन सक्छ भनि हेक्का/मान्यता राखेर अघि बढ्दा दुबै वर्गको गजललाई न्याय हुने गरी गजल लेख्न सकिन्छ होला जस्तो लाग्छ ।

एउटा गीति-गजल (भावना-प्रधान, सर्वाधिक श्रोता र गीत-संगीतको लागि सुहाउँदो), अर्को कवितात्मक गजल (चिन्तन-प्रधान, कविमण्डली र गजलका विशेष प्रेमीहरुको लागि सुहाउँदो) ।प्रेम गीत-गजलको लागि एक सदाबहार विषय हो । तर के कुरामा ध्यान दिनुहोस् भने पुराना गीत-गजलमा पढिएको सुनिएको सेकेण्डह्याण्ड र काल्पनिक कथा र व्यथा होईन आफैले भोगेको-देखेको वास्तविक व्यथाको कथा लेख्नुहोस् । साधारणै भए पनि वास्तविक कथा हो भने त्यसको प्रभाव अत्यन्त गहिरो हुन्छ, किनभने त्यो वास्तविक हुन्छ र मानिसले त्यसलाई वास्तविक रुपमा अनुभव गर्न सक्छन् । गजलको एउटा सिमितता के हो भने यो विधा सबै प्रकारको अभिव्यक्तिको लागि मैत्रीपूर्ण छैन । लामा लामा कथाहरुको विस्तृत वर्णन गजलबाट सम्भव पनि छैन, उपयुक्त पनि हुँदैन । त्यस्ता कथाहरु गैर-गजल कविता वा गद्य विधाबाट बढी सजिलो र बढी अचुक तरिकाले प्रस्तुत गर्न सकिन्छ ।



गजल भनेको त Forrest Gump ले भनेको झै "A box of [assorted] chocolates" हो । यहाँ हरेक एउटा chocolate ले हरेक एउटा शेर जनाउँछ र Forrest Gump ले अगाडि थपे जस्तै "You never know what you're gonna get" हुनुपर्छ ।



यदि पाठक/श्रोताले एउटा शेर सुनेपछि अब अर्को शेर के को बारेमा छ वा त्यसमा के छ भनेर थाहा पाउँछ भने त्त्यो गजल गजल भएन, त्यो शायरी (शेर हाल्ने कला) भएन ।



शेर भनेको पाठक/श्रोतालाई छक्क पार्न लेखिने कुरा हो । त्यसमा आश्चर्य तत्व हुनै पर्छ । त्यो तत्व शेरमा पनि हुनुपर्छ, गजलमा पनि हुनुपर्छ । भावमा पनि हुनुपर्छ, संगठनमा पनि हुनुपर्छ ।



लौ मैले त झन् जटील पो बनाईदिए है गजलको परीचयलाई । तर जे भए पनि तलका केही कुराहरुलाई ध्यानमा राख्नैपर्छ । तर सर्जकले आफैलाई सबैभन्दा पहिले के सोध्नुपर्छ भने- 'म मेरो भावनालाई गजलमा बढी अचुक र स्पष्ट ढंगले अभिव्यक्त गर्न सक्छु कि गैर-गजल विधामा ?' गैर-गजल विधामा बढी स्पष्ट र अचुक ढंगले अभिव्यक्त हुन सक्छ जस्तो लाग्यो भने त्यसै गर्नु, गजलमा अभिव्यक्त गर्न अन्य विषय/कथा खोज्नु ।



अब गजलमा ध्यान दिनुपर्ने कुराहरु:



१. शेरलाई कथाको बर्णन (description) को लागि होईन, टिप्पणी (comment) को लागि प्रयोग गर्नुपर्छ । त्यो भनेको के हो भने शेर भनेको कुनै घटनाको जानकारी दिन मात्र लेख्ने नभई बरु त्यो घटनाले आफुलाई कस्तो प्रभाव पर्‍यो त्यस प्रभावको जानकारी दिन लेख्ने कुरो हो । अनि स्मरणिय रहोस्, कहिलेकाँही सादा वर्णन नै एक घाघडान टिप्पणी हुनसक्छ ।



२. एउटै कुरा दुई शेरमा बाँडिन वा दोहरिन हुँदैन । (A ghazal must be like a box of assorted chocolate)



३. शेर भनेको तीन पाने रक्सी हो, जाँड होईन । कथालाई डिस्टिल गरेर त्यसको सार खिच्ने भनेको । कथाको छोक्रा र पानी शेरमा देखिनु हुँदैन । छोक्रा र पानी बेगर कथा पुरा नहुने देखियो भने कि त डिस्टिल गर्ने तरीका पुगेन कि त त्यो डिस्टिल हुन सक्ने अर्थात् शेरमा अभिव्यक्त हुन सक्ने कथा नै होईन । त्यस्ता कथालाई गैर-गजल विधीबाट परिशोधन गर्नु र पस्कनु बेस ।



कुरो जटील पो बनाए क्यारे मैले । अब यसलाई यहीं बिसाउँछु ।


समस्त शुभकामना सहित,
बाबुराम '' नेपे''

Keine Kommentare: