Sonntag, 1. März 2009

राशिफलको बेग्लै संसार !

निर्मलकुमार आचार्य


समाजमा राशिफल सुन्ने, सुनाउनेक्रम जुगौँ अघिदेखि चल्दै आइरहेको छ । पत्रकारिताका क्षेत्रमा पनि यसले अभिन्न स्थान ओगटेको छ । दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, त्रैमासिकलगायत विभिन्न छापामा त राशिफल देख्दै आइएकै छ, साथमा रेडियो, टेलिभिजन कार्यक्रममा समेत यसले विशेष समय ओगट्दै आएको देखिन्छ । देशी, विदेशी अखबार, पत्रिका तथा टेलिभिजन च्यानल, रेडियोबाहेक इन्टरनेटमा समेत राशिफल दिनेक्रम बढ्दो छ ।

'आजको अत्याधुनिक युगमा राशिफल दिइनु अन्धविश्वासलाई प्रोत्साहित गर्नु र समाजलाई गुमराहमा पार्नु हो' भन्ने पनि छन्् । यसैले गर्दा कतिपय सञ्चारमाध्यममा राशिफल प्रकाशन गरिँदैन । केही सञ्चारमाध्यममा राशिफल कहिले छापिने र कहिले नछापिने विषय पनि बन्दै आएको छ भने अधिकांश दैनिक अखबारले दैनिकमात्रै होइन, साप्ताहिक तथा वाषिर्क राशिफलसमेत दिने गरेका छन् ।

गोरखापत्रले विगत लामो समयदेखि राशिफल प्रकाशित गर्दै आएको हो । पछिल्लो केही समय राशिफल छापिएन तर फेरि यसले निरन्तरता पाउनथालेको छ । आम पाठकबाट राशिफलप्रति व्यापक चासो रहेकाले नै दिन छाड्नेहरू समेत यतातिर पुनः लागेका उदाहरण धेरै छन् । धेरैजसो पत्रपत्रिकामा ज्योतिषका नाम, तस्बिरसहित राशिफल दिने गरिएको छ, कतिपयले ज्योतिषका नामसमेत नराखी राशिफल दिने गरेका पनि छन् भने यस्ता प्रस्तुतिले आमपाठकलाई आशङ्का उब्जाउने ठाउँ दिएकामा विमति नहोला ।

सञ्चारमाध्यममा राशिफल दिनु ठीक कि बेठीक ? गम्भीर छलफल र ठूलो वादविवादको विषय हुनसक्छ । देश, काल, पात्र, परिवेश अनुसार यसको औचित्य, अनौचित्य प्रष्टिने पनि पक्का छ तर यहाँ यतिखेर राशिफल दिनु ठीक कि बेठीक सन्दर्भ लेखनको अभीष्ट होइन । छापिएका राशिफलबारे पनि पाठकका एकै प्रकारको धारणा पाइँदैन । कोही रूचाउने छन् त कोही पटक्कै मनपराउँदैनन् । पत्रपत्रिका हात पर्नासाथ राशिफलतिर आँखा दौडाउनेका पनि प्रतिक्रिया एकै छैन । एउटाले छापेको वा प्रसारण गरेको राशिफल अर्कोसँग ठ्याम्मै नमिल्ने गरेको गुनासो उहिलेदेखि चल्दै आइरहेकै छ । एउटा पत्रिकामा कुनै राशि विशेषबारे 'सुख' लेखिएको हुन्छ भने अर्कोमा 'दुःख' भेटिनु निश्चय नै पाठकको कन्सिरी तताउने कुरो हो । ज्यो.पं. कमलराज भण्डारीसँग यसबारे सोद्धा उनको ठाडो जवाफ थियो-शास्त्रीय आधार नमान्दाखेरि नै विविधता देखापरेको हो । कुन स्थानमा चन्द्रमा पुग्दा के फल हुन्छ ? भनी एकिन गर्न नसक्नेले समेत फलादेश दिने प्रवृत्ति रहेकाले जनमानसमा ज्योतिषशास्त्रप्रति नै भ्रम फैलाउने क्रम बढेको छ ।

राशिफल लेख्दा कुन ग्रहको के कस्तो दृष्टि रहेको, तारा कस्तो भएको आदि विभिन्न पक्षमा ध्यान पुर्‍याउनैपर्छ । जस्तै पूणिर्मामा चन्द्रमा बलवान् हुन्छ भने औँसीमा तारा बलवान् हुन्छन् । औँसीमा चन्द्रमाको बल क्षीण भइसकेको हुन्छ । त्यसैले ताराको बलले हेर्नुपर्ने कुरो सम्बद्ध विज्ञ औँल्याउँछन् ।

'कान्तिपुर' सम्बद्ध ज्यो. पं. ओजराज उपाध्याय -लोहनी)का भनाइमा फलित ज्योतिषीहरू सबैको दैनिक राशिफलमा चन्द्रमा नै विशेष हुनुपर्ने हो । साप्ताहिक तथा मासिक राशिफलमा चाहिँ सामान्यतः सबै ग्रहको सारांश लिनुपर्ने हुन्छ । विदेशीहरूको समेत फलादेश गर्ने, नेपाल समाचारपत्र सम्बद्ध ज्योतिष पं. रामानन्दका अनुसार 'ज्योतिषीहरूको लापर्बाही, विषयवस्तुको ज्ञानको अभावले गर्दा पत्रपत्रिकामा छापिएका राशिफलमा अन्तर देखिएको हो ।'

चन्द्रराशिदेखि दोस्रो, पञ्चम र नवम स्थानमा गोचरवश पुगेको चन्द्रमाले नराम्रो फल दिने मान्यता अनुसार धेरैजसो ज्योतिषी राशिफल लेख्छन् तर उक्त नराम्रो फल सूर्यदेखि चन्द्रमा ७२ डिग्री अक्षांशभित्र परेमा मात्र हुन्छ । सूर्यदेखि अगाडि, पछाडि दुवैतिर ७२ डिग्री अक्षांशभन्दा टाढा पुगेका चन्द्रमाले उक्त दोस्रो, पाँचौँ र नवौँ स्थानमा पनि शुभफल दिन्छन् । यस सिद्धान्तलाई कुनै ज्योतिषीले प्रयोग गर्ने र कुनैले नगर्नेहुँदा अन्तर देखिएको बताइन्छ ।

ज्यो. बद्रीविशाल गर्गका धारणा चाहिँ झनै फरक पाइयो । उनी भन्छन्-ज्योतिषका सिद्धान्त प्रतिपादित हुँदा सत्गुण प्रधान थियो र आज तमगुण प्रधानको बेला छ । सत्गुणका बखतका सिद्धान्त तमगुणका बेलामा सही फलादेश गर्नै सक्दैनन् । त्यसैले अहिलेको बेला र मानिसका व्यवहार अध्ययन गरी छुट्टै सिद्धान्त प्रतिपादन गर्नु आवश्यक छ ।

सञ्चारमाध्यममा देखिने राशिफलको यही अन्तरका कारण हुनसक्छ, कतिपय सञ्चारमाध्यमले विभिन्न सञ्चारमाध्यमलाई उद्धृत गरी सबैका राशिफलको उतार दिएको पनि नदेखिने होइन ।

सञ्चारमाध्यममा छापिने राशिफलमा अन्तर भएको, ज्योतिषीहरू सबै योग्य नभएको जस्ता विषय पनि अहिलेको लेखनको उद्देश्य होइन । प्रसङ्गवश यही पङ्क्तिकारको २०५५ जेठ २९ गते गोपमै प्रकाशित 'ज्योतिषीहरूले शास्त्रसम्मत फलादेश गर्छन् त ?'लेखबाट सम्बन्धित विद्वान्हरूको मतमात्रै यहाँ प्रस्तुत गरिएको हो ।

निश्चय नै राशिफलले समाजमा निकै अघिदेखि गहिरो प्रभाव रहेको छ । चाहे पूर्वेली मुलुक होस्, चाहे पश्चिमेली मुलुक अथवा मध्यक्षेत्र जहाँसुकै ज्योतिषशास्त्रमा विश्वास गर्नेहरू राशिफल भनेपछि भुतुक्कै हुन अझै छाडेका छैनन् ।

राहु, केतु, सूर्य, चन्द्र, मङ्गल, बुध, वृहस्पति, शुक्र, शनि यी नौ ग्रह भएझैँ राशि १२ रहेका छन् । यहाँ राशिका नाम संस्कृतमा रहेका छन् भने अङ्ग्रेजी, फारसी, अरबी आदिमा पनि तिनका नाम भेटिन्छ । संस्कृत, अङ्ग्रेजी, फारसी र अरबीमा क्रमशः यी नाम हुन् ः मेष, एअरिज, बरे, हमल, वृष, टारस, गत्व, सोर, मिथुन, जेमिनाइ, दोपेकर,जौजा, कर्कट, क्यान्सर, खरचग, सरतान सिंह, लिओ, शीर, असद् कन्या, भअर्गो, खुशे, सम्बला, तुला, लाइब्रा, त्राजु, मीजर, वृश्चिक, स्कोर्पियो, कझदुम, अकरव, धनु, स्यागिटेरिअस, कमान, कोस, मकर, क्यापि्रकअर्न, बोझ, जद्दी, कुम्भ, अक्वारिअस, दुल, दल, मीन, पिस् सीज्, माही, हूत ।

दृश्य तथा श्रव्य सञ्चारमाध्यममा दिइने राशिफल नामका आधारमा वा तारिखका आधारमा हुने गर्छन् । खासगरी पूर्वेली मुलुकमा नामका आधारमा र पश्चिमेली मुलुकमा तारिखका हिसाबमा राशिफल दिनेगरिए तापनि यहाँ चाहिँ दुवैको प्रयोग पाइन्छ । यसले गर्दा सर्वप्रथम राशिफल नामका आधारमा हो कि तारिखका आधारमा खुट्ट्याउने चलन रहेको छ ।

पृथ्वीको-सूर्यको चारैतिर परिभ्रमण) बाटोलाई १२ भागमा बाँडिएको छ । अनेक प्रकारका समूह वा झुन्डहरूबाट मात्र यस बाटाका प्रत्येक स्थलको चिनारी पाइन्छ । समूह वा झुन्ड भएकैले संस्कृत भाषामा 'राशि' कहलाउनपुगेको हो भने नेपाली भाषामा पनि त्यसैगरी थुप्रोलाई रास वा राशि भन्नेगरिएको छ । बाटाका यिनै १२ झुन्ड नै १२ राशि हुन् । सूर्य एक राशिबाट अर्को राशिमा जाँदा सङ्क्रमण भनिन्छ, संक्रान्ति शब्द यसैबाट बनेको हो । सूर्य मेष राशिमा प्रवेश गर्दा बैशाख महिना हुन्छ भने वृषमा जाँदा जेठ हुन्छ र मिथुनमा जाँदा असार हुन्छ भने अहिले कुम्भमा जाँदा फागुन महिना छ यसैगरी मीन राशिमा जाँदा चैत महिना हुने कुरो ज्योतिषशास्त्रमा उल्लेख छ ।

राशिलाई चिनाउनेक्रममा एकथरी ज्योतिषशास्त्रमा यसो उल्लेख छ-पृथ्वीको परिभ्रमण मार्गलाई 'भचक्र' वा नक्षत्रमण्डल भन्दछन् । आकाशस्थित भचक्रको ३६० अंश अथवा १०८ भाग निश्चित गरिएका छन् । सबै भचक्रलाई १२ राशिमा बाँडिएको छ । ३० अंश अथवा ९ भागको एकराशि हुन्छ । मेष आदि प्रत्येक राशि अन्तर्गत अश्विनी आदि नक्षत्रका क्रमशः ९/९ चरण हुन्छन् भने प्रत्येक नक्षत्रका चार चरण हुन्छन् ।

राशिका बारेमा सैद्धान्तिक वा व्यवहारिक टिपनटापन गर्नु वा तिनको चिनारी दिनु अहिलेको लेखनको मूल उद्देश्य होइन । राशिफल छाप्ने वा प्रसारण नगर्नेलाई केही भन्नु छैन, दिनेलाई प्रोत्साहन गर्ने अभिप्राय पनि होइन । यी सबै होइनका विपरीत एउटै हो चाहिँ के भनेदेखिन्, राशिफल दिँदा राशिसूचक चित्रमा पनि ध्यान दिनुपर्ने हो कि ?

राशिफल छाप्ने धेरैजसो पत्रपत्रिकाले राशिको नामसँगै सम्बन्धित राशिको चित्र पनि राख्ने गरेका छन् । सञ्चारमाध्यममा चित्रको कत्ति महत्व हुन्छ ? भनिरहनुपर्दैन । चित्र देख्नासाथ राशिफलप्रेमीको आँखा आˆनो ठाउँमा स्वतः पुगिहाल्छ । पाठकलाई त्यतिखेर झोक चल्नु अस्वाभाविक हुन्न, जतिखेर उही चिन्ह एकभन्दा बढी ठाउँमा प्रयोग भएको पाइन्छ । ताजा उदाहरण चाहिएमा गएको पुस १२ गते अथवा पुस १९ गते प्रकाशित नेपाल समाचारपत्रको 'सौगात' पल्टाउँदा हुन्छ, त्यहाँ सिंह र वृश्चिक दुवै राशिमा सिंह विराजमान छन् । अन्य अङ्कमा पनि यो उदाहरण सजिलै हेर्न सकिन्छ ।

राशिफलमा एक ठाउँमा हुनुपर्ने चित्र अर्को ठाउँमा हुनेगरेका उदाहरण त प्रशस्तै छन् । मनग्गे हिसाबकिताब गरेर राशिफल दिइएको भए तापनि चित्रैका भरमा फलादेश हेर्ने पाठकका लागि चाहिँ त्यसले सकारात्मक प्रभाव पार्न नसक्नेमा शङ्का रहन्न । उदाहरण खोज्नेका लागि गएको पुस २७, माघ १६ अथवा माघ २६, फागुन ७, ८ गतेको 'कान्तिपुर' पल्टाउँदा हुन्छ, त्यहाँ 'तपाईंको आज'मा चित्ररखाइको भद्रगोल प्रष्ट देख्नसकिन्छ । उल्लिखित बाहेक अघिल्ला, पछिल्ला विभिन्न अङ्कमा पनि यो विद्रूपता दर्शन सुलभ रहेको छ । सम्भवतः आजको कान्तिपुरमा पनि यो बेमेल देख्न सकिन्छ ।

गोरखापत्रमा चाहिँ राशिफलका साथमा चित्र दिन छाडिएकाले 'मीनमेष' निकालिहाल्नुपर्ने ठाउँ रहेन तर यसकै भगिनी प्रकाशन 'द राइजिंग नेपाल'को १२ डिसेम्बर २००८ को शुक्रबारे अङ्कमा वृश्चिकको ठाउँ धनुष र धनुको ठाउँ बिच्छीले ओगटेको देखिन्छ । यसका पनि अघिल्ला, पछिल्ला अङ्कमा यो विद्रूपता सहजै हेर्न नसकिने होइन ।

ज्योतिषशास्त्र अनुसार मेषको अर्थ भेडो, वृषको साँढे भएजस्तै मिथुनको पुरूष-स्त्रीको जोडी, कर्कटको गँगटो, सिंहको सिंह, कन्याको कुमारी, तुलाको तराजु, वृश्चिकको बिच्छी, धनुको धनुष, मकरको गोही, कुम्भको घडा र मीनको माछो हुन्छ ।

ताराहरूको झुन्ड नै राशि भएको त उल्लेख भइसकेको छ । उक्त झुन्डका आकृति फरक-फरक भएका र ती ठ्याक्कै भेडो, साँढे आदि जस्ता भएकाले स्वरूप अनुसार तिनका नाम जुराइएका हुन् । व्यक्तिका स्वभाव पनि जन्मराशि अनुसार हुने कुरासमेत कतिपय ज्योतिषी बताउँछन् ।

पात्रो, क्यालेन्डर, पञ्चाङ्ग तथा पत्रपत्रिकामा प्रकाशित हुने अधिकांश राशिचित्र हेर्दा अलि, अलिभिन्न देखिए तापनि समग्रमा उही जीव अथवा वस्तु बुझन्िछ । मकर राशिको हकमा भने स्थिति भिन्न रहेको बुझ्न हम्मे पर्दैन । मकर राशिका लागि प्रयोग गरिएका प्रस्तुत चित्रले यही यथार्थ औँल्याउँछन् । नेपाली, हिन्दी, संस्कृत, अङ््गे्रजी आदि धेरैजसो शब्दकोशले मकरको अर्थ गोही, घडियाल दिएको पाइन्छ । मकरको पर्यायवाची संस्कृत शब्दमा आकोकेरो, वक्र, एण र मृग देखिन्छ ।

मकरराशिसूचक चित्रले अन्योल सिर्जना गरेकाले सम्बन्धित विज्ञछेउ जानकारीको अपेक्षा गरिनु स्वाभाविकै हो । यसबारे सम्पर्क राख्दा ज्यो. उदय निरौलाको भनाइ छ-नक्सा दिइँदा भेडोजस्ते देखिन्छ तर मकर भनेको गोहीजस्तो हो । एक प्रकारको सामुदि्रक जन्तु । चित्र दिँदा उल्टो सिंग भएको देखा'को पनि हुन्छ ।

'सूर्य पञ्चाङ्ग' सम्बद्ध ज्यो.पं. सूर्यप्रसाद ढुङ्गेलका भनाइमा मकर भनेको गोही हो, ग्राह हो । कुनै प्रकाशनमा कन्याले घडा लिएर राखेको पनि हुन्छ, कुनैमा अर्कै चित्र पनि हुन्छ । यसबारे मलाई थाहा भएन । राशि चिन्हबारे, प्रतीकबारे छुट्टै अध्ययन नै चाहिन्छ ।

ज्यो.पं. दामोदरनाथ लोहनीको चाहिँ ठोकुवासाथ भनाइ छ-मकर भनेको गोही हो, अरू थोक होइन ।

ज्योतिष विषयका उपप्राध्यापक ज्यो.पं. शिवराज सुवेदीका अनुसार पनि मकरको अर्थ गोही हो । गोही, ग्राह, क्रोकोडायलबाहेक अर्को अर्थ छैन ।

सम्बन्धित फाँटका विज्ञका धारणामा निश्चय नै मेल देखिन्न । विज्ञका बीचमै सम्बद्ध पक्षबारे मतैक्य हुन नसक्दा विविध प्रकाशनमा अनेक रूप देखिनु अनौठो कुरो होइन । आम पाठकलाई भ्रममा नपार्न र आफू पनि अन्योलमा नपर्न सरोकारी सबैले सामूहिक तबरमै यसबारे घोत्लिई उपयुक्त बाटो अँगालिहाल्नु श्रेयष्कर होला कि !

Keine Kommentare: